Nov 20, 2017

भीष्म पञ्चक र वराहक्षेत्र तीर्थ


हरेक वर्षको कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको पाँच दिनलाई भीष्म पञ्चक भनिन्छ । यस पर्वमा सुनसरी जिल्लाको वराह क्षेत्र तीर्थमा पाँच दिनसम्म मेला लाग्दछ । सनातन धर्मका विभिन्न धर्मग्रन्थमा कार्तिक महिनामा पर्ने भीष्मपञ्चक व्रतको विशेष महत्त्व बताइएको छ । त्यसै पनि कार्तिक महिनाको सनातन धर्ममा ठूलो महत्त्व छ, अनि चान्द्रमानअनुसार यो अवधि कार्तिक महिनाको अन्तिम पाँच दिन हो, त्यसैले पनि महिनाभरि स्नानदानादि गर्न नसकेकाहरूले यस अवसरमा तीर्थस्नान गर्ने र दानादि गर्ने प्रावधान बनेको हो । यसै अवसरमा महाभारतका प्रमुखपात्र भीष्म पितामहले भगवान् श्रीकृष्ण र पाण्डवहरूलाई ज्ञान र उपदेश दिएको हुँदा यस पर्वको नाम भीष्मपञ्चक रहन गएको हो । स्कन्दपुराणको दोस्रो वैष्णव खण्डको कार्तिक माहात्म्यको ३३ औं अध्यायमा यस व्रतको महत्तालाई यसरी वर्णन गरिएको छ -

कार्तिकस्याऽमले पक्षे स्नात्वा सम्यग्यतव्रतः । एकादश्यां तु गृह्णीयाद् व्रतं पञ्चदिनात्मकम् ॥
शरपञ्जरसुप्तेन भीष्मेण तु महात्मना । राजधर्मा मोक्षधर्मा दानधर्मास्ततः परम् ॥ 
कथिता पाण्डुदायादैः कृष्णेनाऽपि श्रुतास्तदा । ततः प्रीतेन मनसा वासुदेवेन भाषितम् ॥ 
धन्यधन्योऽसि भीष्म त्वं धर्माः संश्रावितास्त्वया । एकादश्यां कार्तिकस्य याचितं च जलं त्वया ॥ 
अर्जुनेन समानीतं गाङ्गं बाणस्य वेगतः । गाङ्गं तोयं  ततो लोके कौशिकीति विदुर्जनाः ॥
तुष्टानि तव गात्राणि तस्मादद्यदिनावधि । पूर्णान्तं सर्वलोकास्त्वां तर्पयन्त्वर्घ्यदानतः ॥
तस्मात्सर्वप्रयत्नेन मम सन्तुष्टिकारकम् । एतद्व्रतं प्रकुर्वन्तु भीष्मपञ्चकसंज्ञितम् ॥

यसको अर्थ हो - महाभारतको युद्ध समाप्त भई पाण्डवहरूले विजय गरिसकेपछि भगवान् श्रीकृष्णले युधिष्ठिरादि पञ्चपाण्डवलाई शरशय्यामा सुतिरहेका भीष्म पितामहका समीपमा लिएर जानुभयो र भीष्मसँग राजधर्म, मोक्षधर्म र दानधर्मका बारेमा उपदेश गर्न आग्रह गर्नुभयो । इच्छामृत्युको वरदान प्राप्त गरेका भीष्म आफ्नो समुचित मरणका लागि उत्तरायणको प्रतीक्षा गरी शरशैय्यामा सुतेका थिए । श्रीकृष्णको अनुरोधपछि उनले कृष्णसमेत पाण्डवहरूलाई अर्ती दिए । यसरी भीष्मले ज्ञानप्रदान गरेको समय कार्तिक महिनाको एकादशीदेखि पूर्णिमासम्मको पाँच दिन परेको थियो । भीष्मबाट ज्ञान प्राप्त गरेपछि भगवान् श्रीकृष्णले प्रसन्नतापूर्वक भन्नुभयो - हे पितामह, हजुरले कार्तिक महिनाको एकादशीका दिन पानी खाने इच्छा गर्नुभयो । अर्जुनले हजुरलाई तृप्त तुल्याउन वाण हानेर गङ्गा उत्पन्न गरे, जुन गङ्गा मोक्षकारक कोशी नदीका नामले प्रख्यात भईन् । उक्त जलले घाइते अवस्थामा शरशैय्यामा सुत्नुभएका तपाईंको शरीरलाई तुष्टि मिल्यो । त्यसपछि लगातार पाँच दिनसम्म ज्ञान प्रदान गर्नुभयो, अतः यी दिन अत्यन्त पवित्र र मङ्गलकारी बनेका छन् । त्यसैले अबउपरान्त भविष्यमा यी दिनहरूलाई तपाईंकै नामद्वारा भीष्म पञ्चक भनी सम्बोधन गरिने छ । जसमा लोकले तपाईंलगायत आफ्ना मृतपितृहरूलाई तर्पण गरी निष्ठापूर्वक व्रतदानादि सम्पन्न गर्दछन्, तीबाट म सन्तुष्ट रहने छु ।

व्रतविधान
भीष्म पञ्चकको व्रतसम्पादन गर्न एउटा वेदी वा मण्डप तैयार गरी त्यसलाई गाईको गोबरले लिपपोत गरी वा नमिल्ने सिमेन्टले बनेको ठाउँ छ भने गङ्गाजलले पवित्र तुल्याउनु पर्दछ । मण्डपको बीच भागमा पीताम्बर कपडा ओछ्याएर त्यसमा तिल राखी तिलमाथि एउटा जलपूर्ण कलशस्थापना गर्नु पर्दछ । अनि कलशमाथि पञ्चपल्लव र त्यसमाथि अष्टदलयुक्त थालीमा शालिग्राम भगवान् वा भगवान् नारायणको प्रतिमा राखी विधिपूर्वक पूजादि गर्नु पर्दछ । यस व्रतको क्रम कार्तिक महिनाको शुक्लपक्षको एकादशी (हरिबोधिनी वा ठूली एकादशी) बाट प्रारम्भ हुन्छ र निरन्तर पाँचदिनसम्म यसरी नै पूजासम्पन्न गर्नु पर्दछ । यस क्रममा सुरुमा बालिएको दियो अखण्ड बलिरहनु पर्दछ । व्रतान्तमा पूर्णिमाका दिन गङ्गापुत्र भीष्म र आफ्ना पितृहरूको तृप्तिका निमित्त तर्पणादि गरी ब्राह्मण, गरीवगुरुवा र साधुसन्तलाई भोजन, वस्त्र, दक्षिणादि समर्पण गरी यज्ञ गरी व्रत समापन गर्नुपर्दछ ।

भीष्म पञ्चकको महत्त्व
भीष्म पञ्चक व्रत अत्यन्त मङ्गलकारी र पुण्यदायी व्रत मानिन्छ । जसले यस व्रतको निष्ठापूर्वक व्रत गर्दछ, उसले मृत्युपछि उत्तम गति प्राप्त गर्दछ । यस व्रतले जन्मजन्मान्तरदेखि सञ्चित समस्त ज्ञातअज्ञात पापराशिको अन्त्य हुन्छ, साथै भगवान् श्रीकृष्ण र पितृहरूको आशीर्वादले मानसिक विचलन, दीर्घरोग र आर्थिक विपन्नतामा रहेका व्यक्तिले सदैव स्वस्थ, प्रसन्न र सम्पन्न रहने अनुकूलता प्राप्त गर्दछ ।

भीष्मपञ्चकमा वराहक्षेत्र मेला
कार्तिक शुक्लपक्षको ठूली एकादशीदेखि पूर्णिमासम्मको यिनै पाँच दिनमा नेपालको पूर्वी भागमा रहेको सप्तकोशी र कोका नदीको सङ्गममा रहेको पवित्र तीर्थस्थलमा भव्य मेला लाग्ने गर्दछ । वराह क्षेत्र कोसी अञ्चलको सुनसरी जिल्लामा रहेको प्राचीन र महत्त्वपूर्ण तीर्थस्थल हो । मनोरम र रमणीय दृश्यद्वारा सुशोभित पवित्र तीर्थस्थल वराह क्षेत्रमा गणेश वराह‚ गुरु वराह‚ सूर्य वराह‚ कोका वराह‚ इन्द्र वराहका मन्दिर तथा लक्ष्मीको मन्दिर लगायत जम्मा ९ वटा मन्दिर र धर्मशालाहरू रहेका छन् । कोका नदीको सङ्गममा श्राद्ध गर्दा पितृहरूको उद्धार हुनुका साथै श्राद्धकर्ताको सांसारिक जीवन सुखमय भई मोक्ष प्राप्त हुने तथा उसका अघिपछिका कुल र वंशजको समेत मुक्ति प्राप्त हुने प्रसङ्ग वराह पुराणमा उल्लेख गरिएको छ । कोसी नदीको शास्त्रीय नाम कौशिकी हो र गङ्गामा गएर मिसिने नदीहरूमध्ये हिमालयदेखिकै जलराशि समेटेर समाहित हुने अन्तिम नदीका रूपमा यस नदीलार्इ लिइन्छ, त्यसैले आफ्ना मृत आफन्तको अस्थिसञ्चय गरी यहाँ जलप्रवाहित गरेगराएमा मृतकले मोक्ष प्राप्त गर्ने जनविश्वास रही आएको छ । त्यसैले यस ठाउँमा अस्थि विसर्जन गर्ने तथा श्राद्ध गर्ने गरिन्छ । महाभारत, विभिन्न पुराणहरू र संस्कृत काव्यमा वराहक्षेत्रको मुक्तकण्ठले महिमा गायन गरिएको छ र सप्तकोसीमा कोकाहा नदीको सङ्गम भएको यो देवस्थलमा परापूर्वदेखि श्रद्धाभक्ति र पूजाआजा हुँदै आएको छ । कौशिक गोत्रका राजर्षि विश्वामित्रको तपोभूमि मानिएको यस ठाउँमा बहने कौशिकी नदी विश्वामित्रकै बहिनी भएको धार्मिक आख्यान छ । दुर्गासप्तशती चण्डीमा भगवती दुर्गाको शरीरको कोशबाट कौशिकी नदी उत्पत्ति भएको प्रसङ्ग छ ।

भगवान् विष्णुको दशावतारमध्ये तेस्रो अवतारका रूपमा वराह (शूकर) को अवतारलाई लिइन्छ । वराहपुराणमा कोका नदी र वराहक्षेत्रको राम्रो वर्णन पाइन्छ -

अस्ति मत्स्यशिला नाम गुह्यं कोकामुखे वरम् । धाराः पतन्ति तिस्रो वै कौशिकीमाश्रिता नदीम्
शिलाचन्दनसंकाशं देवानामपि दुर्लभम् । वराहरूपमादाय तिष्ठामि पुरुषाकृतिः 
गुह्यानां परमं गुह्यमेतत्स्थानं परं महत् । सिद्धानां परमा सिद्धिर्गुह्यं कोकामुखं परम् 

वराहक्षेत्रमा प्रत्येक वर्षको कार्तिक शुक्ल पक्षमा पर्ने ठूली एकादशीदेखि पूर्णिमासम्म र पौष कृष्ण प्रतिपदा, पौषे औंसी, माघेसङ्क्रान्ति आदिमा मेला लाग्ने गर्दछ । जहिले पनि तीर्थयात्री र दर्शनार्थीको आकर्षणका रूपमा रहेको यस तीर्थमा सङ्क्रान्ति, एकादशी, औंसी, पूर्णिमा र अन्य धार्मिक महत्त्वका दिनहरूमा यात्रुहरूको घुइँचो लाग्ने गर्दछ । यहाँ नेपाल, भारत, भूटान र अन्य ठाउँबाट पनि तीर्थाटनमा श्रद्धालुहरू आउने गर्दछन् ।

वराहक्षेत्रमा उत्तरबाट दक्षिणतर्फ कोसी नदीको वहाव रहेको छ । यस ठाउँको पूर्वतर्फ डाँडामा पवित्र तीर्थस्थल विष्णुपादुका र हालको उदयपुर जिल्लामा पर्ने पश्चिमको डाँडामा चौदण्डीकोट भन्ने ठाउँ रहेको छ । चौदण्डीकोटमा शाहवंशभन्दा पहिले नेपालमा शासन गर्ने सेनवंशी राजाहरूको ऐतिहासिक गढी रहेको छ । वराह क्षेत्र जाने तीर्थयात्रीले पूर्वपश्चिम राजमार्गको रामधुनी भासि (झुम्का) मा ओर्लिएर उत्तरतर्फ करिब २२ किलोमिटर यात्रा गरी जानुपर्ने हुन्छ । पूर्वपश्चिम राजमार्गको इटहरी र झुम्काबाट अथवा कोसी राजमार्गको धरानबाट वराहक्षेत्र जाने सवारी साधनहरू उपलब्ध हुन्छन् । यहाँ बस्न ठूलाठूला होटल र लज नभए पनि धर्मशालाको राम्रो व्यवस्था छ ।

No comments:

Post a Comment